‘फेक अकाउन्ट’ खोलेर गलत प्रचार गरियो : कुलमान घिसिङ

काठमाडौं, भदौ १० । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना विषयमा सामाजिक सञ्जालमार्फत गलत कुरा सूचना प्रवाह भएको बताएका छन् । घिसिङले आफ्नो नाममा ‘फेक अकाउन्ट’ खोलेर सामाजिक सञ्जालमा गलत सूचना दिइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

बुधबार बिहान आफ्नो फेसबुक अकाउन्टमा स्टाटस लेख्दै उनले आफ्नो नाममा सामाजिक सञ्जालको फेक अकाउन्ट खोलेर आफ्नाबारे गलत हल्ला फैलाइएको जानकारी दिए ।

उनले लेखेका छन्, ‘मेरो फेक अकाउन्ट खोली विभिन्न समाचारहरू सम्प्रेषण भएकाले मेरो योबहेक कुनै अरू आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु ।

’मंगलबार साँझ घिसिङका नाममा खोलिएका फेक ट्विटर अकाउन्टबाट उनलाई फेरि अर्को कार्यकालका लागि पनि सरकारले नियुक्ति दिएको भन्ने समाचार भाइरल पारिएको थियो ।यसैलाई आधार बनाएर कतिपय राष्ट्रिय सञ्चारमाध्यमले समेत उनको पुनर्बहाली भएको समाचार बनाएका थिए।

सोही कुरालाई संकेत गर्दै निर्देशक घिसिङले फेसबुकमार्फत आफ्नो यो अकाउन्टबाहेक अर्को आधिकारिक अकाउन्ट नभएको र हल्ला गलत भएको स्पष्ट पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्