काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस

काठमाडौं, भदौ ९ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासन स्रोतले जानकारी दिएको हो ।

मंगलबार दिउँसो बसेको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् । जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् ।

डिसिसीएमसीको बैठकमा मेयरहरुले एकीकृत आईसोलेशन र क्वारेन्टाईन निर्माण कार्य तदारुकताका साथ अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । क्वारेन्टाइन बनाउन स्थानीय निकायले ठाउँ उपलब्ध गराउने सहमती गरेका छन् ।

यसअघि साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो। उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदैछ।

 

प्रतिक्रिया दिनुहोस्