विश्‍वविद्यालय अनुदान आयोग र टेलिकमबीच सम्झौता

काठमाडौं , भदौ ९ । कोभिड १९ का कारण शैक्षिक सत्र नगुम्‍ने गरी पठनपाठन र अनुसन्धानका कार्य नियमित गर्न विश्‍वविद्यालय अनुदान आयोग र नेपाल टेलिकम सम्झौता भएको छ ।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलको उपस्थितिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्‍वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र ढुंगेलले हस्ताक्षर गरेका छन् ।

टेलिकम र आयोगको विशेष सक्रियतामा भएको सम्झौताबमोजिम मुलुकका सबै विश्‍वविद्यालय र तीअन्तर्गतका आंगीक क्याम्पसहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्‍न सबैलाई नेपाल टेलिकमले ह्‍याप्पी लर्निङ प्याक उपलब्ध गराउनेछ ।

ह्‌याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रीजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिनेछ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

प्याकेजअन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र पाँच सयमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटाजुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा ई(लर्निङ एप्लिकेसन प्रयोग गर्न र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्