उपत्यकाका तीन प्रजिअको बैठक बस्दै, थप एकसाता निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौं, भदौ ९ । पछिल्लो एक सातायता उपत्यकामा कोरोना संक्रमितको दर बढ्दो छ ।हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जान थालेका छन् । बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ ।

बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । भाइरसका बिरामी बढ्दै जान थाले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । यो बुधवार मध्यरातबाट सकिँदै छ ।निषेधाज्ञाको समय सकिनुअघि मंगलबार दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु जनकराज दाहाल, हुमकला पाण्डे र नारायण प्रसाद भट्ट बैठकमा बस्दै छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउने तयारी भएको छ । कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गरिएको छ ।

तीनवटै जिल्लाका जिल्ला सुरक्षा समितीको निर्णयले भदौ ३ को मध्यरातदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समय सकिनुअघि बस्ने बैठकले आगामी रणनीति बनाउने बताइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले बैठकमा निषेधाज्ञालगायत कोरोनामै केन्द्रित रहेर छलफल हुने बताए ।प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा निषेधाज्ञाको कार्यान्वय अवस्था समीक्षा गर्ने र भावी रणनिती तय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।

यता निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको निष्कर्ष निकालिएको छ ।आवागमन बन्द गरेपछि भीडभाड कम भएको र त्यसबाट उपत्यकामा संक्रमणको दर घटेको स्थानीय प्रशासनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्