आजदेखि पाँचौँ चरणको उद्धार उडान हुँदै, यस्तो छ उडानको नयाँ तालिका

काठमाडौं, भदौ ९ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ ।कोरोना महामारी लगायत विभिन्न कारणले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको स्वदेश फिर्तीका लागि आजदेखि पाचौँ चरणको उद्धार उडान शुरू हुने भएको होयसअघि क्वरेण्टीनको व्यवस्था हुन नसकेको भन्दै रोकिएको चार्टर्ड उडान फेरि सञ्चालन गर्ने निर्णय भएसँगै आजदेखि उडान हुन लागेको हो ।

यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो ।विदेशबाट फर्कनेको साथमा कोरोना नभएको रिपोर्ट भएमा होटल क्वारेन्टिनमा बस्न नपर्ने निर्णयसमेत सरकारले गरिसकेको छ ।नियमित उडान भने भदौ १६ देखि हुनेछ । त्यसअघि उद्धार उडान शुरु हुन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबारदेखि हुने उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ ।

यस्तो छ उडान तालिका

मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले यूएईबाट नेपाली ल्याउने छ ।

बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट नेपाली ल्याउन चार्टर्ड उडान भर्नेछ । नेपाली कम्पनीको उडान तालिका भने बिहीबार मात्र छ । बिहीबार नेपाल एअरलाइन्सले रियाद र हिमालय एअरलाइन्सले दमामबाट नेपाली ल्याउनका लागि उडान भर्नेछन् ।

त्यसै दिन यूरोप र अमेरिकाबाट पनि यात्रु लिएर टर्किस एअर आउने छ । फर्कने सबैको पीसीआर रिपोर्ट हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वरेण्टीनमा राखेको खर्च एअरलाइन्सले नै बेहोर्नुपर्छ ।टर्किस र कतार एअरले एक उडानमा मात्र १ सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले जनाएको छ । सरकारले दैनिक पाँच सय जनाको मात्र उद्धार गर्ने जनाएको छ ।सङ्क्रमण जोखिम कम भएका र पीसीआर परीक्षण सहज भएका देशबाट भदौं १६ गतेदेखि नियमति उडान हुनेछ ।

विदेशबाट आउनेको पीसीआर नेगेटिभ भए एयरपोर्टबाट सिधै घर जान पाइने

विदेशबाट आउनेहरुको पीसीआर नेगेटिभ भए एयरपोर्टबाट सिधै घर जान पाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा नबसी एयरपोर्टबाट सिघै घर जान पाउने बताएका हुन् ।

सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने मन्त्री भट्टराईले बताए ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को विवरणअनुसार भदौ ७ गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५२ हजार २५१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्