बढ्दै संक्रमण : कोभिड–१९ का बिरामी भर्ना लिन स्वास्थ्य मन्त्रालयको अनुमति अनिवार्य

काठमाडौं, भदौ ६ । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० का बिरामी भर्ना लिँदा मन्त्रालयको सिफारिस लिन र समन्वय गर्न निर्देशन जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’ शुक्रबार जारी गरेको निर्देशनअनुसार काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका बिरामी भर्ना लिँदा मन्त्रालयको एचइओसी ९हेल्थ इमजेन्सी अपरेशन सेन्टर० टिमसँग सिफारिस लिनुपर्ने र समन्वय गर्नुपर्नेछ ।

निर्देशनमा भनिएको छ ‘अस्पतालमा कोभिड–१९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसियू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचइओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ ।’

यस्तो सिफारिस र समन्वयका लागि चित्सकको नाम र फोन नम्बर पनि दिइएको छ । यसैगरी, एचइओसी कल सेन्टरका नम्बरहरू पनि दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचारका लागि खास अस्पतालहरू तोकेको छ ।यता केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ४७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।१२ जना भेन्टिलेटरमा र १३५ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ५२ जना र १२ जना भेन्टिलेटरमा रहेका छन् ।त्यस्तै प्रदेश २ मा ४६, प्रदेश ५ मा १६, गण्डकी प्रदेशमा ६ र प्रदेश १ मा १५ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

शुक्रबार १ सय ४८ जना, बिहिबार १ सय ३६ जना, बुधबार १ सय ३७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत थिए।

प्रतिक्रिया दिनुहोस्