लिदी पहिरो: मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता, अछामममा ११ जना अझै भेटिएनन्
काठमाडौं, भदौ ६ ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
पहिरोमा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए । यता अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् ।
बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डीएसपी योगेन्द्रसिंह थापाले बताए ।सो बाढीमा बगेर छ जनाको मृत्यु भएको थियो । मृत्यु भएका छ जनाको शव फेला परी पहिचान भइसकेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार बेपत्ता हुनेहरुमा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रुपेश साउद, वर्ष छ का प्राकृति साउद, वर्ष ५५ को जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही रहेका छन् । बेपत्ता भएकाहरुमध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ ।
उनीहरूको खोजीका लागि शनिबार पनि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्