वैशाखयता मात्रै चट्याङबाट ५२ जनाको मृत्यु, १६५ जना घाइते
काठमाडौं, भदौ ५ ।वर्षायामसँगै चट्याङको कारण कतिपयले ज्यान गुमाउने गर्छन् । त्यसैले यसबेला चट्याङको सम्भावित जोखिमबाट बच्नका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ ।
खुला स्थान वा अग्ला डाँडाहरूमा चट्याङको जोखिम हुन सक्छ । टावर, अग्ला रूख, अग्ला संचरनामामा चट्याङ पर्न सक्छ । किनभने बादलमा जम्मा भएको विद्युतीय चार्ज तटस्थ हुने क्रममा माथिबाट तलतिर आउँदा जुन वस्तु नजिक पर्छ त्यहीमाथि विपरीत चार्ज पैदा हुन्छ ।
यसैबीच नेपालमा चट्याङबाट ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या अत्यधिक देखिएको छ । वैशाखयता मात्रै चट्याङबाट ५२ जनाको ज्यान गएको छ भने १६५ जना घाइते भएका छन् ।
गृहमन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण ताथ व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि भदौ ४ गतेसम्मको तथ्यांकअनुसार २१७ जना चट्याङबाट पीडित बनेका हुने, जसमध्ये ५२ जनाको ज्यानै गएको छ ।
गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको हो । मनसुन सुरु नहुँदै चट्याङबाट ३० जनाको मृत्य भइसकेको थियो भने मनसुन सुरु भएयता २२ जनाले ज्यान गुमाएका छन् ।
वैशाखयता पहिरोबाट ज्यान गुमाउनेको संख्या २२३ छ भने बाढीका कारण १४ जनाले ज्यान गुमाएका छन् । पहिरोपछि सबैभन्दा ठूलो जोखिम चट्याङकै देखिएको छ । यसअवधिमा पहिरोमा परी घाइते हुनेको संख्या १८५ रहेकोमा चट्याङबाट मात्रै घाइते हुनेको संख्या १६५ रहेको छ ।















प्रतिक्रिया दिनुहोस्