अलपत्र परेका नेपालीको उद्धार उडान फेरि शुरु गर्दै सरकार
काठमाडौं, भदौ ५ । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान फेरि थाल्ने भएको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार उडान फेरि थाल्ने निर्णय गरेको हो ।
यसअघि कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले सोमबार विदेशमा अलपत्र नेपालीको उद्धार रोक्न नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दा अनुमति पाइसकेका चार्टर्ड उडानसमेत रद्ध गरिएका थिए ।
मन्त्रिपरिषद् बैठकले अब नियमित उडान भएका देशबाट नियमित उडानमार्फत र अन्य देशको हकमा चार्टर्ड उडानमार्फत उद्धार उडान गर्ने निर्णय गरेको हो ।उद्धार उडान कहिलेबाट सुचालु गर्ने भन्ने निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।
दैनिक बढीमा १५ सय जनासम्म ल्याउने निर्णय सरकारले गरेको छ । स्वदेश फर्कन चाहनेले ७२ घण्टा ननाघेको पीसिआर रिपोर्ट बुझाउनुपर्ने छ भने काठमाडौँमा सात दिनसम्म आफै रकम तिरेर क्वारेन्टिनमा बस्नुपर्नेछ ।
सरकारले हालसम्म विभिन्न ३० देशबाट झण्डै ५२ हजार नेपालीलाई स्वदेश ल्याएको छ । नाम उद्धार उडान भने पनि पैसा भने आउने व्यक्ति आफैले तिरेका छन् ।यसअघि पर्याप्त क्वारेन्टिन तथा आइसोलेसन व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगित गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल संयोजकत्वको सीसीएमसीले दिएको थियोे ।
भदौ १ देखि उडान गर्ने पहिले निर्णय भएबमोजिम एयरलाइन्सहरुले उडान तालिका बनाइसकेका थिए । तर बीचमा आएर सिसिएमसीले रोक्न निर्देशन दिएको थियो ।
यसेबचि सरकारले विदेशबाट फर्किने कामदारहरू राख्न होटल क्वारिन्टिनहरु तोकेको छ । विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने छ ।
यसअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । यसमा खाना खाजाको खर्च पनि जोडिएको छ ।
सरकारले विदेशबाट यात्रुको उद्धार सुरु गरेलगत्तै होटल क्वारिन्टिनहरुको सूची सार्वजनिक भएको हो ।
यसअनुसार विदेशबाट फर्किन दूतावासले सिफारिस गरेका व्यक्तिले काठमाडौंको तोकिएका होटलमा आफूलाई पायक पर्ने दर रेटमा होटल बुक गर्न सक्नेछन् ।
विदेशबाट फर्किनेहरु २ जनाले एउटा रुम सेयर गरेमा सस्तो पर्ने छ ।
चार्टर्ड उडानमा भाडा धेरै भएको तथा टिकेटिङमा कालोबजारीसमेत भएको गुनासो आएपछि केही ठाउँमा नियमित उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको तयारी छ ।











प्रतिक्रिया दिनुहोस्