अछाम बाढीपीडितः राहत बोकेर गृहमन्त्रीसहितको टोली अछाम प्रस्थान

काठमाडौं । अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भयो भने ११ जना बेपत्ता भए । यो घटनाले अछाम बासी अहिले शोकमा छन् ।

सैबीच अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत छन् ।

अछाम लगिएका राहत सामग्रीहरु धेरैजसो नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराइदिएको छ । नेकपा नेता एवम् सांसद भीम रावलले पनि ११ वटा त्रिपालको व्यवस्था गरेका छन् । १ हजार ५५ किलो राहत सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, त्रिपाललगायतका सामग्री छन् ।यता केहिदिन मात्रै नेकपा स्थायी कमिटी सदस्य भीम रावलले अछाममा पहिरो र बाढीका कारण भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई राहत प्रदान गर्न माग गरेका थिए ।

अछाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका रावलले बुधबार विज्ञप्ति जारी गर्दै विस्थापितहरुलाई बसोबासको व्यवस्था गर्न तथा क्षतिग्रस्त सडक एवम् भौतिक संरचनाको पुनर्निर्माणका लागि अध्ययन र योजना आरम्भ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्