प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीद्वारा तीजको शुभकामना व्यक्त , जीवन रक्षालाई विशेष ध्यान दिन आग्रह
काठमाडौं, भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल ट्वीटरमा शुभकामना व्यक्त गरेका प्रधानमन्त्री ओलीले विज्ञहरुको सल्लाह र सरकारको निर्देशनलाई ख्याल गर्नसमेत भनेका छन् ।
“यस बर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।” उनले उल्लेख गरेका छन् ।
यस्तै उनले महामारीको समयमा आफ्नो जीवन रक्षालाई विशेष ध्यान दिनसमेत सुझाएका छन् ।यसैबीचराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान पर्व हरितालिका मनाउन आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गरेकी हुन् ।
‘यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका हुन्छन् भन्ने मेरो विश्वास छ,’ सन्देशमा भनिएको छ, ‘हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ ।’
राष्ट्रपति भण्डारीले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक र जातीय विभेद लगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेकी छन् ।











प्रतिक्रिया दिनुहोस्