उपत्यकामा निषेधाज्ञा : आवतजावतमा कडाई, हिँडडुलमा समेत रोक (यस्तो छ पछिल्लो अपडेट)
पछिल्लो समय काठमाडौं उपत्यकामा निरन्तर रुपमा कोरोना संक्रमित बढिरहेका छन्। बुधबार १५९ जना, मंगलबार २०५ जना, सोमबार १६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो। उपत्यकामा निरन्तर रुपमा कोरोना संक्रमित बढिरहेकाले काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी भएसँगै चेकजाँचमा कडाई गरिएको छ। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ।
सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ। यो समयमा अत्यावश्यकबाहेक हिंडडुलमा समेत रोक लगाइएको छ।बुधबार बिहान १२ बजेदेखि निषेधाज्ञा लागु गरेपछि काठमाडौं उपत्यका बुधबार सुनसान भएको छ।
पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सिडिओ कार्यालयहरूले एक साताका लागि निषेधाज्ञा जारी गरेका छन्। निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन्। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन्।
कोभिड–१९ सङ्क्रमणको उच्च बृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौंका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम आदेश जारी भएको हो। निषेधाज्ञामा औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन्।
प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यका छिर्ने नाका र चोकचोकमा चेक जाँच कडाई पारिएको छ । पास र अत्यावश्यकबाहेक जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन नभएको कार्यालयले जनाएको छ। अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्युनतम भौतिक दूरी कायम गर्न प्रशासनले आग्रह गरेको छ। प्रहरीले बिहान खुलेका केहि पसललाई पनि बन्द गराएको छ।
निषेधाज्ञामा निस्किएका ५९४ मोटरसाईकल र गाडी होल्ड
निषेधाज्ञाको समयमा स्थानिय प्रशासनले तोकेको मापदण्डमा परेका बाहेक अन्य सवारी साधानलाई ट्राफिक प्रहरीले भेटेकै ठाउँमा ‘होल्ड’ गर्न थालेको छ ।
बिहिबार बिहान गाडी र मोटरसाईकल समेत ५ सय ९४ सवारी साधान होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक ९एसएसपी० भिम प्रसाद ढकालले जानकारी दिए ।
उनले भने–‘स्थानीय प्रशासनले तोकेको र इमर्जेन्सी काम बाहेक निस्किएका गाडी र मोटरसाईकललाई होल्ड गरेका छौं ।’ट्राफिक प्रहरीले होल्ड गरेको सवारी साधान साँझ ८ बजेपछि मात्र सवारी धनिले फिर्ता पाउँछन् । होल्ड गरिएकामा चारपांग्रे सवारी भन्दा दुईपांग्रे सवारी धेरै छन् । करिब ४ सय १० वटा मोटरसाईकल र स्कुटर होल्ड गरिएको छ ।
सबै बैंक बन्द
बैंकका कर्मचारीलाई प्रशासन र प्रहरीले बाटैमा रोकेर कार्यालय जान अवरोध गरेपछि बिहीबार उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन् । कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले बिहीबारको लागि उपत्यकाका सबै शाखाहरु बन्द गर्न आह्वान गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक साताको लागि उपत्यकामा निशेधाज्ञा जारी गरे पनि न्यूनतम बैंकिङ सेवालाई सुचारु राख्न प्रशासनले सहमति लिएको थियो । सो सहमतिपछि राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कारोबार सूचारु राख्न निर्देशन दिएको थियो ।
तर, प्रशासनले पूर्व प्रतिवद्धताअनुसार बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि बैंक खुला गर्न नसक्ने निर्णयमा पुगेको बैंकर्स संघले जनाएको छ । यसबारे संघले राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल समेत गरिसकेको छ ।











प्रतिक्रिया दिनुहोस्