राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि , निवासमै पुगेर अन्तिम श्रद्धञ्‍जली दिए नेताहरुले

काठमाडौं , भदौ ३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्‍टि गरिएको छ ।उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।

नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्‍टि गरिएको हो ।गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको आफ्नै निवास लैनचौरमा निधन भएको थियो ।

कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका एकमात्र र अत्यन्त महत्त्वपूर्ण कवि मान्छन् । उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैत(वैशाख काव्यसङ्ग्रह चर्चित छन् । यसैबीच राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सभामुखदेखि राजनीतिक दलका नेताहरुले निवासमै पुगेर श्रद्धञ्‍जली व्यक्त गरेका छन् ।

सभामुख अग्‍निप्रसाद सापकोटा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला अन्तिम श्रद्धञ्‍जली व्यक्त गर्न घिमिरेको लैनचौरस्थित निवास पुगेका थिए ।महामन्त्री कोइरालाले राष्ट्रकवि घिमिरेको निधनको खबरले अत्यन्त मर्माहत तुल्याएको बताएका छन् । उनले नेपाली साहित्यजगतमा घिमिरेले पुर्‍याएको योगदानको स्मरण पनि गरे ।

त्यस्तै, कांग्रेस वरिष्ठ नेता पौडेल पनि घिमिरेको निवासमा पुगेर अन्तिम श्रद्धञ्‍जली व्यक्त गरे । उनले घिमिरे नेपाल राष्ट्रका ढुकढुकी भएको भन्दै आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतना जगाउनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

घिमिरेको निधनबाट राष्ट्रले एउटा महान् विभूतिलाई गुमाएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्