अछाममा बाढीले बगाएर ११ जना अझै बेपत्ता, ६ जनाको शव भेटिए

काठमाडौं, भदौ ३ । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् ।

बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । ११ जना अझै बेपत्ता छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार मंगलबार राति आएको बाढीमा बेपत्ता भएका ६ जनाको शव भेटिएको हो । उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।

बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीपहिरोेमा परी बाजुरामा दुई जनाको मृत्यु

जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका–५ की तीन वर्षीया सनिका बुढा रहेकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

त्यसैगरी सोही घरकी पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन् । गए राति सुतेको बेला घरमाथिबाट आएको पहिरोमा परी बालिकाको मृत्यु भएको र दुई घाइते भएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए ।

त्यस्तै राति घट्ट पिस्न गएको समयमा बाजुराको बूढीनन्दा नगरपालिकामा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । घट्ट पिस्न गएको समयमा बड्डीगढ नदी बढेर गएसँगै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–६ की भीनु ल्वार रहेकी छन् । ती महिलाको शव खोलाको तीरमा भेटिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी ठगुन्नाले बताए ।
उता जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा एक जनाको बेवारिसे शव फेला परेको छ ।

आज बिहान एक वृद्धाको बेवारिसे शव फेला परेको र सो शव सडेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।- फाइलत तस्बिर

प्रतिक्रिया दिनुहोस्