आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा– के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं , भदौ ३ ।।काठमाडौं उपत्यकामा बुधबार आज रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू हुने भएको छ । मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिको बैठकले बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

समितिको बैठकले अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारी साधन समेत चलाउने नदिने निर्णय गरेको छ।

के चलाउन पाइन्छ त निषेधाज्ञामा ? यस्तो छ प्रशासनको निर्देशन

१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा वाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।

२. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न ।

३. अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न ।

४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न ।

५. कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानु पर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा विहान ९ बजेदेखि १०ः३० बजे र बेलुकी ३ बजेदेखि ५ः३० बजेसम्म आवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न ।

६.सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।

७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न निषेध।

८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न ।

९.शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टियूशन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न ।

१०.सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङ्गपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न ।

११. फूटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न ।

१२. होटेल, रेष्टुरा सञ्चालन गर्न ।

१३. बैकिङ्ग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रबाह गर्नुपर्नेछ ।

१४. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ ।

१५. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ ।

१६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानून बमोजिम कारबाही हुनेछ ।

१७. यस आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्