रुसले थाल्यो कोरोना खोपको उत्पादन, यहि महिनाको अन्तिमबाट लगाउन थालिने
काठमाडौं, साउन ३१ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सहित कतिपय देशका वैज्ञानिकले शंका व्यक्त गरे पनि अन्ततः रुसले कोरोना खोपको उत्पादन थालेको छ ।
रुसको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी खोप उत्पादन शुरु गरिएको जानकारी दिएको हो । उक्त खोप यही महिना (अगस्ट) को अन्तिमसम्ममा मानिसलाई लगाउन शुरु गरिने जनाइएको छ ।
तर कतिपय विज्ञले रुसले चाँडै खोप बनाउने धुनमा अपनाउनुपर्ने सुरक्षाका मापदण्ड र परीक्षण प्रक्रिया पूरा नभएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।
रुसमै पनि स्वतन्त्र रूपमा गरिएको जनमत सवेक्षणले करिब आधा जति चिकित्सक यो खोप लगाउन तयार नरहेको देखाएको छ । यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएको कोरोना खोप सबै सुरक्षा मानकमा खरो उत्रिएको र यसलाई देशको स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको जानकारी दिएका थिए ।
रुसले दर्ता गरायो कोरोना खोप
आफ्नो छोरीलाई समेत उक्त खोप दिंदा प्रभावकारी परिणाम आएकाले अब यो खोप चाँडै उत्पादन शुरु गर्ने बताएका थिए ।
विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ । रुसी भाषामा स्पुत्निकको अर्थ भूउपग्रह हो । त्यो उपग्रह रुसले नै बनाएको थियो ।
आफूले बनाएको खोपप्रति कतिपय देशका वैज्ञानिकले व्यक्त गरेका आशंकालाई रुसले ‘पूरै आधारहीन’ भनेर खण्डन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्