सनराइज बैंकद्वारा कोरोना कोषमा ७९ लाख सहयोग
काठमाडौं , साउन ३० । सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ रकम सहयोग गरेको छ ।
सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम शुक्रवार हस्तान्तरण गरेको हो ।
राजधानीमा आयोजित एक समारोहका बीच बैंकका संचालक समितिका सदस्य श्रीमती शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरिन् ।प्रदान गरिएको रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।
उक्त समारोहमा बोल्दै अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद दिएका थिए । साथै उनले बैंकले प्रदान गरेको सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको बताए ।
प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने उनले बताए । सनराइज बैंकले यसअघि पनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासँग लड्न अति आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको थियो ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक श्रीमती आरती राज्यलक्ष्मी राणाको पनि उपस्थिति थियो ।















प्रतिक्रिया दिनुहोस्