सिन्धुपाल्चोक पहिरो पिडितको उद्धारमा जुट्न प्रचण्डको आग्रह

काठमाडौं , साउन ३० । सिन्धुपाल्चोक पहिरो पिडितको उद्धारमा जुट्न प्रचण्डले आग्रह गरेका छन् । अविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको क्षति भएको घटनाले नेकपा अध्यक्ष प्रचण्डले स्तब्ध बनाएको बताउँदै यस्तो आग्रह गरेका हुन् ।‘उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ ।’ प्रचण्डद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उक्त घटनामा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई उनले आव्हान गरेका छन् । साथै पहिरोमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्यसैगरी कालीकोट जिल्लाको महावै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने मकवानपुरमा पनि एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनुभएकाहरुमा पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

‘बर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सबैमा अपील गर्दछु ।’ प्रचण्डले भनेका छन् । यस्ता घटना बारम्बार हुने गरेका छन् । बाढि र पहिरोले कयौको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्