आजबाट काठमाडौं आवतजावत पूर्ण रूपमा रोक, ‘सवारी पास’ बन्द

काठमाडौं , साउन २९ । आजबाट काठमाडौं आवतजावत गर्ने दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित वृद्धि हुन थालेपछि सवारी पास पूर्ण रूपमा बन्द गरिएको हो । बुधबार गृह मन्त्रालयले अर्को ब्यवस्था नभएसम्मका लागि पास वितरण रोक्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएपछि जिप्रका काठमाण्डुले बिहिबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए। उनले उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृतिसमेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको बताए।

सबै जिल्लाबाट सवारी पास वितरण बन्द
गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको थियो।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो। पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ। काठमाडौँ उपत्यकामा समेत दैनिक १०० जनाभन्दा बढी सङ्क्रमण देखिएपछि प्रवेशमा नाकामा कडाइ गरिएको छ।

अन्तरजिल्ला सवारी पास रद्द भएपनि बिरामी ल्याउन लैजानका लागि एम्बुलेन्स भने आउन जान पाउने छन्।गृह मन्त्रालयले अर्को निर्णय नहुँदासम्म एम्बुलेन्स, खाद्य तथा तरकारी बोक्ने सवारी साधनहरू बाहेक अरू गाडीहरू एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्