काठमाडौँमा बढ्दै कोरोना : उपत्यकाका नाकाहरुमा कडाइ गर्न सरकारलाई आग्रह

काठमाडौं , साउन २५ ।सरकारले लकडाउन खुकुलो गरेपछि अहिले उपत्यका भित्रिनेको संख्या बढिरहेको छ । पछिल्लो केही दिनयता उपत्यकामा संक्रमितको संख्या पनि बढिरहेको छ ।

स्थानीय तहको अनुमतिविना उपत्यका प्रवेश निषेध गरिए पनि नागरिकहरु लुकिछिपी उपत्यका भित्रिरहेका छन् । यसैबीच उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज रक्षा मन्त्रालयमा छलफल गरेको छ ।

फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल गरेका हुन् । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्न सरकारलाई आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा संक्रमणको दर बढिरहेको उल्लेख गर्दै फोरमले नाकामा कडाइ गर्न सरकारलाई आग्रह गरेको हो । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर फोरमले नाकामा कडाइ गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारबाही गर्न आग्रह गरेको हो ।

फोरमका अध्यक्षसमेत रहनु भएका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै चाहिनेभन्दा बढी मान्छेहरु भित्रिएकाले विगतमा जस्तै नाकाहरुमा कडाइ गर्नुपर्ने बताए । फोरमले ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताका लागि नयाँ नाम दर्ता र नवीकरण गर्ने मिति साउन मसान्तसम्म रहेकामा त्यसलाई बढाउन पनि आग्रह गरिएको उनले बताए ।

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेहरुका लागि संघीय सरकारले एकीकृत रुपमा क्‍वारेन्टिन व्यवस्थापन गर्नुपर्ने बताए । समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा पर्वहरु स्थगित गरिएजस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनशनजस्ता कुराहरु प्रतिवन्ध गर्नुपर्ने माग गरिएको उनले बताए । मास्क नलगाउनेलाई कारबाही गर्नुपर्ने, पीसीआर परीक्षणको सट्टा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा खर्च गर्ने र गुणस्तरीय क्‍वारेन्टिन व्यवथापनका लागि ध्यान दिनुपर्ने सुझाव सीसीएमसीलाई दिइएको उनले बताए ।

फोरमले सार्वजनिक यातायात निषेध गरी निजी सवारीसाधनमा जोर(बिजोर प्रणाली लागु गर्न पनि सरकारलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले फोरमले दिएका सुझावलाई सीसीएमसीमा निर्णय गरी अगाडि बढाउने प्रतिबद्धता जनाए ।

यसैगरि नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौँका ९० र ललितपुरका २ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्