नेपाली सेनालाई भारतले दियो १० आईसीयू भेन्टीलेटर
काठमाडौं, साउन २५ । भारत सरकारले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।कोरोना संक्रमण बढेसँगै देशमा भेन्टिलेटरको अभाव हुने समाचार सार्वजनिक भएकै बेला भारत सरकारले केहि थान भेन्टिलेटर नेपाललाई दिएको हो ।
विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्घ लड्न सहयोग पुर्याउने उद्देश्यले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको जनाएको छ ।नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका सेनापति पूर्णचन्द्र थापालाई उपहारस्वरुप वितरण गरिएका आईसीयू हस्तान्तरण गरेका छन् ।
सामान हस्तान्तरण गर्न जंगी अड्डामा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् ।
यी भेन्टिलेटरहरु अस्पतालका आईसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आईसीयू कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ ।विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुको ओसारपसारमा पनि यी भेन्टिलेटर सहज र उपयोगी छन् ।
मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ ।दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत उक्त भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ।
हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्याउन भारत प्रतिबद्घ रहेको बताए ।यसअघी पनि भारत सरकारका तर्फबाट राजदुत क्वात्राले ३० हजार पीसीआर कीटका साथै २३ टन ओषधी सहितका स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका थिए।











प्रतिक्रिया दिनुहोस्