बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु , यी ११ जिल्लामा गातार वर्षा, सतर्क रहन आह्वान

काठमाडौं, साउन २३ । बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिदा डिलाशैनी गाउँपालिका ४ ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घरमा रहेका १२ वर्षीया छोरी सुमित्रा बोहरा र उनकी १३ वर्षीया साथी सुनिता बोहरा भने सकुशल रहेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
‘घरको माथिल्लो तलामा सुतेका आमा–छोराको मृत्यु भएको हो,’ उनले भने ‘तल सुतेका छोरी र उनी साथी भागेर बाँचे ।’ पहिरोले केही चौपायासमेत मरेका छन् । यसैबीचमनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।प्रदेश १ र २ का विभिन्न ११ जिल्लामा भने राति ३ बजेदेखि लगातार मध्यमस्तरको वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रले बिहान ६ बजे जारी गरेको सूचनाअनुसार श्रावण २२ बिहान ६ बजे पछिल्लो ३ घण्टामा सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी र आसपास हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

त्यस्तै धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुङगा, सिन्धुली र आसपास पनि मध्यम बर्षा भईरहेकाले ती क्षेत्र आसपास भइ बहने स(साना नदीमा पनि आकस्मिक बहाव हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउँन आह्वान गरेको छ ।

विभागका अनुसार आज दिउँसो पनि देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार दिउँसोबाट भने बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको पूर्वानुमान गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्