सुनको मूल्यमा नयाँ रेकर्ड: पुग्यो तोलाको १ लाख २ हजार ५ सय, यस कारण आकासियो

काठमाडौं, साउन २२ । सुनको मूल्या आज पनि बढेर नयाँ रेकर्ड कायम भएको छ ।आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँले बढेको हो । सुन हिजो तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो ।महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंश २८ डलरले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।

भाउ महँगो हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । यता लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसन्दर बर्जाचार्यले विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्न जाँदा मूल्य वृद्धि भएको बताए । विश्वका ठूला बैंकहरुमा निक्षेप जम्मा भएको अवस्थामा लगानीकर्ताहरुले सुनबजारलाई सुरक्षीत क्षेत्रको रुपमा अंगाल्दै लगानी बढाएको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्