संक्रमित बढेसँगै उपत्यका प्रवेशमा कडाइ : फर्काइए पास बिनाका सवारी

काठमाडौं , साउन २१ ।काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकामा चेकजाँचमा कडाइ गरिएको छ ।

सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्‍न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाइ गरेको हो ।
उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ ।

यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुलाई पनि रोक लगाइएको छ । प्रहरीले आज पैदल हिँडेर प्रवेश गर्न खोज्‍न पनि दिएको छैन ।उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपरान्हसम्म मास्क नलगाएका २५ जनालाई प्रहरीले कारबाही गरेको छ । पास नभएका गाडीहरु फिर्ता भएका छन् ।

। नागढुंगा नाका हुँदै दैनिक ४ देखि ६ सयसम्म सवारीहरु भित्रिने गरेका छन । बुधबार दिउँसो नागढुंगा नाकामा उपत्यका प्रवेश गर्ने सवारी र प्रहरी चेकिङ पनि कडा देखियो ।

मंगलबारमात्रै उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए । नागढुंगा, साँगा र फर्पिङ हुँदै हजारौं नागरिक उपत्यका प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्ष सहित सरकारले प्रवेशमा कडाई गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार उपत्यका भित्रिने नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । नाकाहरुमा गरीएका १० हजार ८ सय ५३ वटा पीसीआर परीक्षणमा ४० जनामा संक्रमण पोजेटिभ देखिएको हो उपत्यका बाहिरबाट आउनेमा संक्रमण देखिन थालेपछि सरकारले प्रवेशमा कडाई गरेको हो ।

प्रतिक्रिया दिनुहोस्