नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार
काठमाडौं , साउन १८ । नेपालमा पहिलो पटक कोभिड-१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ ।
६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् ।
अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा।डा। सन्तकुमार दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले पनि स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । उनलाई अब आईसीयूबाट निकाल्ने तयारी भइरहेको छ । ‘सुरुमा संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनु परेको थियो’ डा। दासले भने ‘प्लाज्मा थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजन दिनुपरेको छ।’
विराटनगरका यी संक्रमितलाई केही दिनअघि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । फोक्सोमा जटिल समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।कोरोनाबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारमा प्लाज्मा थेरापी उपयोगी मानिन्छ ।
यसको प्रयोग अन्य देशहरूले पनि गर्दै आएका छन् । यो विधिबाट निको भएका संक्रमितको रगत गम्भीर बिरामी परेका संक्रमितलाई दिने गरिन्छ ।
प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ का आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैं त्यससँग लड्न थाल्छ र त्यसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ ।
जसरी एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्णरूपले निको हुन्छ । यदि अहिले निको भएका बिरामीले रगतको प्लाज्मा दान गर्ने हो भने कोरोनाबाट गम्भीर अवस्थामा पुगेकाको ज्यान बचाउन सकिन्छ ।
रगतको प्लाज्मा दान गर्दा दान गर्ने व्यक्तिलाई कुनै हानी गर्दैन । यो रक्तदान जस्तै भएको बिज्ञ बताउछन् । सरकारले कोरोनाले गम्भीर भएका आइसीयू र भेन्टिलेटरमा पुगेका बिरामीको उपचारमा निको भएका बिरामीको रगतको प्लाज्मा लिन तयारी गरेको हो ।















प्रतिक्रिया दिनुहोस्