नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, राष्ट्रप्रमुखहरुबाट बधाई सन्देश आदानप्रदान, कसले के भने ?
काठमाडौं , साउन १७ । शनिबार अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छिन् । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् ।
राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गरेकी छिन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गरेकी छिन् ।
चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गरेकी छिन् ।
उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छिन् । यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल एक चीन नीतिमा प्रष्ट रहेको बताएका हुन् ।
चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता स्मरण गराए । उनले एक चीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको बताएका छन् ।
गत अक्टोबरमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा आफूले गरेका चीनको औपचारिक भ्रमणको स्मरण गर्दै प्रधानमन्त्रीले भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन् ।
पारवहन यातायात सम्झौतासहित त्यसको सन्धिपत्र, नेपाल–चीन सीमापार रेलसेवा परियोजनाको सम्भाव्यता अध्ययनका साथै भौतिक पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका सम्बन्धमा भ्रमणका बेला भएका द्विपक्षीय सम्झौता पारस्परिक सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण हुने उनले बताए ।
चीनले अघिसारेको एकक्षेत्र एकमार्ग ९वेल्ट एण्ड रोड० परियोजनाको सराहना गर्दै प्रधानमन्त्री ओलीले उक्त परियोजना र त्यसमा समाहित हिमालयपार बहुआयमिक सम्पर्क सञ्जालसहितका मुख्य अंशले नेपाललाई आफ्नो विकासका कार्यक्रम अघि बढाउन महत्वपूर्ण अवसर प्रदान गर्ने सन्देशमा उल्लेख गरेका छन् । यसैबीच नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर(इद’ को पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् ।
इस्लाम धर्मावलम्वीको पवित्र पर्व ‘बकर इद’ का अवसरमा आज उहाँले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक आन्दोलनमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइको महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गर्दै सभापति देउवाले लोकतन्त्रको रक्षार्थ अझ बढी जिम्मेवार रहनुहुनेछ भन्ने विश्वास लिएका छन् ।
उनले ‘बकर इद’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्