कर्णालीमा बाढी पहिरोले ३५ जनाको मृत्यु , कैलालीमा बाढीमा बगेर मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं, साउन १६ । कर्णाली प्रदेशमा मनसुन सुरु भएयता बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसोसम्मको अध्यावधिक तथ्यांकअनुसार जाजरकोटमा १५ जना, कालीकोटमा १३ जना, रुकुम–पश्चिममा ४ जना, सुर्खेत, दैलेख र सल्यानका एक÷एकजनाको बाढी र पहिरोमा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।

मनसुन सुरु भएयता पहिरो र बाढीमा परेर प्रदेशमा ९ जना अझै बेपत्ता छन् । कालीकोटमा ७ जना र जाजरकोटमा ३ जना बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । यो अवधिमा पहिरोमा परेर २५ जना घाइते भएका छन् ।

यसैबीच बाढीपहिरोले कालीकोटका ४४ घरका २६५ जना विस्थापित भएका छन ।उता कैलालीमा बाढीमा बगेर मृत्यु हुनेको संख्या ३ पुगेको छ । अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा ३ जनाको मृत्यु भएको छ ।

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका(८ का ३२ वर्षीय चन्द्र विकको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका(८ का ३ जना बेपत्ता भएका थिए ।

यसअघि बिहीबार भजनी नगरपालिका(८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी र शुक्रबार बिहान सोही ठाउँका ४० वर्षीय ईश्वर शाहीको शव फेला परिसकेको थियो ।

‘केहि बेरअघि चन्द्र विकको पनि शव फेला पर्‍यो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्