निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए जिल्ला अदालतबाट सफाइ
काठमाडौं , साउन १५ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका आठजना प्रहरीले सफाइ पाएका छन् ।कञ्चनपुर जिल्ला अदालतले निर्मला बलत्कार तथा हत्या काण्डमा मुद्दा लागेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीलाई सफाइ दिएको हो।
तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।
सोही मुद्दामा उनीहरु सबैले सफाइ पाएका हुन् । जिल्ला अदालतको यो फैसलासँगै अब उनीहरुलाई काममा फर्काइने प्रहरी स्रोतले जनाएको छ।उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन् भने प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दाजु खड्गसिंह विष्टले यातनाविरुद्धको कसुरमा प्रहरीमा उजुरी दिएका थिए ।
निर्मला हत्याकाण्डमा प्रहरीले प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरवाही गरेको भनी एसपी डिल्लीराज बिष्ट सहित ८ प्रहरीबिरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो।दुई वर्षअघि १३ वर्षीय निर्मला पन्तको बलत्कार गरी हत्या गरिएको थियो।
सो काण्डको छानविनमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज बिष्टलाई बर्खास्त गरिएको थियो भने केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसीसहित सात जना प्रहरीलाई निलम्बन गरिएको थियो।











प्रतिक्रिया दिनुहोस्