कैलालीमा ६ हजार घर डुबानमा, दुई हजार विस्थापित, ४ जना वेपत्ता
काठमाडौं, साउन १५ । दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढि घर डुबानमा परेका छन् । उनीहरू मध्ये दुई हजार परिवार विस्थापित भएका छन् ।
डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन् । भजनीमा २ हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन । त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८ सय २५ परिवार डुबानमा परेका छन ।
टीकापुरमा बाढीले ३० घर भत्किएका छन । डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो ।
विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ । यस्तै कैलालीमै बाढीमा परी बेपत्ता भएका तीन जनाको खोजी जारी छ ।
बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको हो भने तीन जना अझै बेपत्ता छन ।
कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक जनक धामीले बताउनुभयो ।
पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको उहाँले बताउनुभयो । बुधबार दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० वर्षीय बलराम चौधरीको उद्धार गरिएको छ ।
त्यस्तै, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।
मंगलबार रातिदेखि देशका विभिन्न ठाउँमा भइरहेको वर्षाले ठाउँठाउँको जनजीवन प्रभावित भएको छ ।
न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दा पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको छ । बर्दीया, कैलाली, कञ्चनपुर, धादिङ, तनहुँ लगायतका जिल्लामा निरन्तरको वर्षापछि बाढी पहिरो र डुबानका समस्या बढेका छन् ।
अविरल वर्षापछि कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन् भने चार जना बेपत्ता भएका छन् । कैलालीको भजनी नगरपालिकाका फरकरफरक ठाउँमा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिका–८ सोनाफाँटा क्षेत्रका चार जना बगेर बेपत्ता भएका छन् । भजनी–८ सोनाफाँटाका ठग्गु चौधरीका ११ वर्षीय नाति स्केल चौधरीसहित चार जना बेपत्ता भएका हुन् ।
बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए । बाढीले भजनीमा थप दुई जना बेपत्ता रहेकोमा उनीहरुको सकुशल उद्धार गरिएको उनले बताए ।











प्रतिक्रिया दिनुहोस्