डुबानको चपेटामा कैलाली, सयौँ घर डुवानमा, स्थानीयवासीको बिजोग

काठमाडौं, साउन १४ । कैलालीमा बर्षासंगै आएको बाढीले एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जोशीपुरमा काँडा नदी गाउँमा पसेपछि २५ घर डुवानमा परेका छन् ।उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुवानमा परेका छन ।काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० भन्दा बढि घर डुवान परेकोे प्रहरी नायव उपरिक्षक विष्टले बताए ।

कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुवानमा परेका छन् ।लगातारको वर्षाले कैलालीको धनगढी लगायतका भू(भाग डुबानमा परेका छन्।अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् ।

नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका स्थानीयवासीले बताएका छन् ।

५ ठूला नदीका तटीय क्षेत्रमा जोखिम

यसैबीच आगामी ३ दिन पाँच ठूला नदीका तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।बाढी सूचना केन्द्रले कन्काई, कोशी, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीजलाधार क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ ।

केन्द्रले ती नदी र प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सुदूर पश्चिम प्रदेश भई बहने साना नदीमा बहाव सतर्कता आसपास हुने र केहि साना नदीमा खतरा आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज कन्काई, आरूणखोला, पश्चिम राप्ती, बबई , रिउखोला, तिनाउ, बाणगंगा, कान्द्रा, मोहना(खुट्टिया, चौधर र यसका केही सहायक नदीमा आकस्मिक बहाव भई खतरा तह आसपास सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्