कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित नौ को मृत्यु, एकजना बेपत्ता

काठमाडौं, साउन १४ ।कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ९ जनाको मृत्यु भएको छ ।नरहरिनाथ–७ मा पहिरो जाँदा एकै परिवारका सात जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

ज्यान गुमाउनेमा ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, सात वर्षका राम बुढा र डेढ वर्षका चरित्र बुढा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो । यस्तै १८ वर्षकी बिमला बुढाको उपचारको क्रममा ज्यान गएको छ ।यस्तै नरहरिनाथ नगरपालिका–४ पहिरोले घर पुरिँदा ६२ वर्षका बाले बुढा र उनकी श्रीमती मन बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सबैको शव निकालेर पोस्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

कर्णाली नदीमा खतराको संकेत

उता कर्णाली नदीको सतह १० दशमलव दुई मिटर पुगेको छ । आज बिहान १० बजेसम्म कर्णाली नदीको सतह १० दशमलव २ मिटर पुगेको छ ।

कर्णालीको सतह १० मिटर पुगे सर्तकता तह र १० दशमलव ८ मिटरलाई खतरा मानिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णालीमा लगातार सर्तकता तहभन्दा बढी वर्षा भइरहेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए ।

उहाँले टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको बताए । तटीय क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्