उपचारमा खटिएका राजविराज अस्पतालका १४ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

काठमाडौं, साउन १० । अस्पताल भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष शनिबारदेखि सञ्चालनमा आएको छ ।

विष सेवन गरी भर्ना भएका तिलाठी कोइलाडी गाउँपालिका २ का ५० वर्षीय एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझ ७ बजेदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष निसंक्रमण गरी सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले बताए ।

आकस्मिक कक्षका बिरामीलाई अन्य वार्डमा सारी निसंक्रमण गरेर बिरामीलाई पुनःअकास्मिक कक्षमा स्थान्तरण गरी सेवा दिन थालिएको डा झाले जानकारी दिए ।

राससका अनुसार कोरोना पोजेटिभ देखिएका बिरामीको नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्यकर्मीको टोलीलाई राजविराजस्थित होटेलको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा पठाइएका एक जना चिकित्सक भने होटल नगई राजविराजस्थित निजी अस्पतालमा खटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्