स्विस सरकारले नेपाललाई दियो ४० हजार पीसीआर टेष्ट कीट
काठमाडौं, साउन ९ । स्विटजरल्याण्ड सरकारले नेपाललाई कोरोना संक्रमण परीक्षण गर्न थप ४० हजार थान पीसीआर टेस्ट किट सहयोग गरेको छ । कोभिड–१९ सम्बन्धी राहत र पुनर्स्थापनाको निरन्तरताका लागि भन्दै स्वीस सरकारको विकास सहयोग परिषद एसडिसीले उक्त परिमाणको पीसीआर कीट सहयोग गरेको हो ।
४० हजार कीट मध्ये २० हजार कीट आजै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ । स्वीस सरकारले दुई चरणमा प्रदान गर्ने भनिएको कीट आज हस्तान्तरण गरिएको नेपालस्थित स्वीस दूतावासले जनाएको छ । दोस्रो लटको बाँकी २० हजार कीट भने आउँदो अगष्टमा प्रदान गरिनेछ ।
एसडिसीले सहयोग गरेको पीसीआर कीट रोशन डायग्नोष्टिकको हो । कोभिड–१९ सँगै नेपाल सरकारलाई निरन्तर सहयोग गरिरहेको एसडिसीले यसअघि नै ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।
यसका साथै कोभिड–१९ को राहत र पुनस्र्थापनाको लागि एसडिसीले प्रदेशको ४ वटा अस्पतालमा वाटर ट्रिटमेन्ट सिस्टमको स्थापना समेत गर्दैछ । यसअघिको सहयोग कोशी अस्पताल विराटनगरमा भने एउटा वाटर ट्रिटमेन्ट सिस्टमको स्थापना पुरा भइसकेको छ ।
यसको अलबा एसडिसीले १ नम्बर प्रदेशको उदयपुरको आइसोलेसन केन्द्रको निर्माणको अनुमानित खर्च ३ करोड २० लाख को झण्डै ५० प्रतिशतले हुन आउने १ करोड ५० लाखको सहयोग समेत प्रदेश सरकारलाई गरेको छ । कोभिड–१९ को महामारीबीच निरन्तर सहयोग जारी राखेको स्वीस सरकारले महामारीको रोकथाम र नियन्णका लागि मात्र नभई नेपाल सरकार र नेपाली जनाताको सामाजिक र आर्थिक पुनरप्राप्तिको प्रयासहरुलाई निरन्तर सहयोग गर्ने बताएको छ ।
कोभिड १९ को राहत र पुनर्स्थापनाको लागि एसडीसीले विराटनगरको कोशी कोभिड अस्पतालमा वाटर ट्रिटमेन्ट सिस्टम स्थापना गरेका छ । त्यस्तै उदयपुरको आइसोलेसन निर्माणको अनुमानित ३ करोड २० लाख रुपैयाँको करिब आधा १ करोड ५० लाख पनि सहयोग गरेको स्विस दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्