अवैध क्रसर बन्द गराएरै छाड्ने अठोट लिएका सिडियो २४ घण्टामै सरुवा

काठमाडौं, साउन ८ । गैरकानुनी रुपमा सञ्चालित क्रसर उद्योगलाई नियमन गरिने त्रासले तनहुँका प्रजिअ बद्रीनाथ अधिकारीको सरुवा भएको छ । जिल्लाका अधिकांश क्रसर उद्योग अवैध र गैरकानुनी रुपमा सञ्चालित छन्। ती अवैध र गैरकानुनी क्रसर उद्योगको अनुगमन तीव्र पारिएपछि प्रमुख जिल्ला अधिकारीकै सरुवा भएको हो । जिल्लामा सार्वजनिक जग्गा नै अतिक्रमण गरी उद्योग सञ्चालन भइरहेका छन्।

दिनदहाडै ठुल्ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ चरम दोहन गरिने क्रसरहरुमा सांसदहरुकै संलग्नता रहेको चर्चा चलिरहेकै अवस्थामा प्रजिअ अधिकारी मन्त्रालय तानिएका हुन्। अवैध क्रसर उद्योग बन्द गराएरै छाड्ने अठोट लिएका उनी अवैध क्रसर उद्योगमा अनुगमन गरी मेसिनहरु नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै मन्त्रालय सरुवा भएका हुन्।जिल्लाभरका अवैध क्रसरहरुको लिस्ट हातमा लिई बाँकी जिल्ला अनुगमन समितिको टिमसँगै क्रसरहरुको अनुगमनसँगै आक्रामक शैली देखेर विरोधीहरु उनको सरुवाको दौडधुपमा लागेको चर्चा अहिले जिल्लामा चल्न थालेको छ।

खासगरी सार्वजनिक जग्गामै अवैध क्रसर सञ्चालन गरेका राजनीतिक पहुँच पाएका ‘डन’हरु प्रजिअको कार्यशैलीको विरोधमा एक भएर लागेका प्राकृतिक स्रोत साधन संरक्षणमा लागेका अभियान्ताहरुले बताएका छन्। गत चैत्र ५ गते तनहुँको सिडियोको जिम्मेवारी पाएका अधिकारीलाई ४ महिनामै मन्त्रालय तानिएको हो।

अन्य जिल्लाका अधिकांश क्रसर उद्योग अवैध र गैरकानुनी रुपमा सञ्चालित छन्। सरकारले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगहरु बन्द गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन समेत दिएको छ तर यो कार्य भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्