परोपकारका नाममा रेडक्रसको भ्रष्टाचारः सरकारलाई थाहै नदिई १६ अर्ब खर्च
काठमाडौं , साउन ८ । प्राकृतिक विपत् र संकटका वेला परोपकारी काम गरेर संसारभरि ख्याति कमाएको रेडक्रस सोसाइटी नेपालमा भने आर्थिक अनियमितता र अपारदर्शी गतिविधिका कारण बदनाम भएको छ ।
कोरोना महामारीसँगै बाढीपहिरोको विपत्तिमा परेका नागरिकको उद्धार र सहयोगमा खटिनुपर्ने वेला नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी सरकारले गरिरहेको अनियमितता छानबिनको भुमरीमा छन् ।
राष्ट्रिय योजना आयोगले गरेको छानबिनमा रेडक्रसले पछिल्लो दश वर्षमा वैदेशिक सहायताबाट जुटाएको झन्डै १६ अर्ब सरकारलाई थाहै नदिई खर्च गरेको भेटिएको छ ।
आर्थिक अपचलन, अपारदर्शी खर्च र अनियमितताका विषयमा नेपाल प्रहरी, राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयले पनि छुट्टाछुट्टै छानबिन गरिरहेको छ ।
रेडक्रसविरुद्ध उजुरीहरू बढ्दै गएपछि सरकारको आग्रहमा योजना आयोगले प्रवक्ता मीनबहादुर शाहीको संयोजकत्वमा विशेष छानबिन समिति गठन गरेको थियो ।
समितिले एक महिना लगाएर तयार गरेको छानबिन प्रतिवेदनमा रेडक्रसले १० वर्षमा १५ अर्ब ९५ करोड ६ लाख वैदेशिक सहायता जुटाएर खर्च गरेको उल्लेख छ । तर, सात करोड १५ लाख ८४ हजारको मात्रै स्वीकृति लिएको छ ।
समितिले आर्थिक वर्ष ०६५र६६ देखि ०७५र७६ सम्म रेडक्रसले आन्तरिक रूपमा गरेको लेखापरीक्षणको प्रतिवेदन अध्ययन गरेको थियो ।
छानविन समितिमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा। पद्मप्रसाद खतिवडा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल, समाज कल्याण परिषद्का कामु निर्देशक प्रलादबाबु पन्त र समाजकल्याण परिषद्का सहायक निर्देशक प्रकाश पंज्ञानी सदस्य थिए ।
संघसंस्था ऐन, २०३४ अनुसार नेपालभित्र दर्ता भएका कुनै पनि गैरसरकारी संस्थाले वैदेशिक सहायता लिनुपूर्व समाजकल्याण परिषद्बाट अनिवार्य स्वीकृति लिनुपर्छ ।
नेपाल रेडक्रस सोसाइटी पनि यही ऐनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको संस्था हो । तर, उसले परिषद्बाट स्वीकृति नलिने मात्रै होइन, एक वर्षदेखि संस्था दर्ता नवीकरण पनि गरेको छैन । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्