कक्षा १२ को परीक्षा असोजको पहिलो साता हुने

काठमाडौं, साउन ७ । कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि हुने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो ।कोरोनाका कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सातामा सक्ने गरी तालिका प्रकाशन गरिने भएको छ ।

परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको बताए।‘सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्ने भनेपछि असोज पहिलो साता परीक्षा लिनेगरी योजनाबनाइरहेका छौँ’, उनले भने, ‘चाँडै परीक्षा तालिका सार्वजनिक गर्नेछौं।’

लकडाउनका कारण बैशाखमा हुने तय भएको कक्षा १२ को परीक्षा रोकिएको थियो। यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ।

पौडेलले परीक्षाका अन्य विधिबाट नसोचिएको र पूरानै तरिकाबाट परीक्षाबाट लिने तयारी भएको जानकारी दिए। केन्द्र तोकिएका विद्यालयहरुलाई निर्मलीकरण गरेर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने उनले जानकारी दिए।

विगतमा परीक्षा केन्द्र तय गरिएका २ सय ५० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण ती केन्द्रहरु निर्मलीकरण गरी झण्डै दोब्बरको संख्यामा केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

परीक्षा सकिएको १ महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना बोर्डको छ ।यसैगरि बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयहरुले नै लिने गरी कार्यविधि समेत सार्वजनिक गरेको छ ।

यसअघि ११ कक्षाको समेत परीक्षा लिंदै आएको बोर्डले अब परीक्षा सञ्चालन, नतिजा प्रकाशन र लब्धाङ्कपत्र प्रदान गर्ने जिम्मेवारी विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई दिइएको छ ।

ग्रेडवृद्धिका लागि फारम भरेका विद्यार्थीको परीक्षा समेत विद्यालयले लिएपनि प्रमाणपत्र भने बोर्डले नै दिने छ ।कक्षा ११ को परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ५ लाख २९ हजार र कक्षा १२ को परीक्षामा ४ लाख ३० हजार विद्यार्थी सहभागी हुँदैछन् ।।

प्रतिक्रिया दिनुहोस्