साउन ८ गतेदेखि अब सबै सार्वजनिक यातायात चल्ने

काठमाडौं , साउन ६ । साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्। मंगलबार पत्रकार सम्मेलन गरेर यातायात व्यवसायीले साउन ८ गतेदेखि सबै यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए । उपत्यका र अन्य जिल्ला भित्रमात्र सार्वजनिक सवारी साधन चल्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राख्दै सवारी साधन चलाएका थिएनन्।

तर मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव वसन्त भण्डारीका अनुसार सरकारले लामो दूरीका सवारी साधन सञ्चालनको विषयमा केही नबोले पनि व्यवसायीले सबै सवारी साधन सञ्चालन गर्ने योजना बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्