धादिङमा पहिरो अपडेट : ४ जनाको मृत्यु, ८ घर पुरियो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं, साउन ६ । अविरल वर्षापछिको पहिरोमा पुरिएर धादिङमा ४ जनाले ज्यान गुमाएका छन् भने केही परिवार विस्थापित भएका छन् ।हिजो र आजको पहिरोमा पुरिएर ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षण (डीएसपी) रुपक खड्काले बताए ।
घरमाथिबाट आएको पहिरोमा घरभित्रै पुरिएर उनीहरूको मृत्युभएको डीएसपी खड्काले बताए । उनीहरूको घर पुरिएको खबर पाएपछि प्रहरीको टोलीले आज बिहान उनीहरूको शवनिकालेको थियो ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ का २५ वर्षका मिलन खाँड, उनकी पत्नी २२ वर्षकी सम्झाना खाँड र उनीहरूका २ वर्षकी छोरी अञ्जिता खाँडको मृत्यु भएको छ ।
यस्तै हिजो गजुरी गाउँपालिका–२ मजुवाडाँडामा गएको पहिरोमा पुरिएर १७ वर्षकी युवती निरुता परियारको पनि मृत्युभएको थियो ।डीएसपी खड्काका अनुसार पहिरोमा परी गजुरी गाउँपालिका २ का २८ वर्षका जिपेन चौधरी र बेनीघाट रोराङ गाउँपालिका–८ भुसाटारकी ५ वर्षकी बालिका संगीता चेपाङ घाइते भएका छन् ।
घाइते भएका चौधरीको स्थानीय अस्पतालमा उपचार गरिएको र चेपाङलाई भने थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।पहिरोका कारण धादिङमा ८ घर पुरिएको डीएसपी खड्काको भनाइ छ । उनका अनुसार २० जना विस्थापित भएका छन् । पहिरोमा पुरी घरबिहीन भएका उनीहरूलाई गजुरी गाउँपालिकाको भद्रकाली सामुदायिक भवनमा राखिएको छ ।
यस्तै पहिरो कै कारण धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्ग क्षेत्रका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।
यता भारी वर्षाका कारण देशभरका साना-ठूला गरी दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बाढी पहिरो जादा धेरैजसो ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका हुन् ।
नदीमा पानीको बहाव बढी भई सडक भासिने, ठुलो पहिरो झर्ने र ढुंगा खस्ने, डाइभर्सन नदीको बाढीले बगाउने, सडकमाथिबाट पहिरो आइ बेलिब्रेज नदीले बगाउने लगायतका समस्याका कारण अहिले विभिन्न सडकहरु अवरुद्ध भएको सडक विभागले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्