कोरोना प्रकोपः ३१ हजार नेपाली स्वदेश फर्किए, एकसातामा थप १६ नेपालीको मृत्यु

काठमाडौं, साउन ४ । सरकारले चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । सरकारको अनुमानमा अझै ५० हजार नेपाली स्वदेश फर्काइहाल्नुपर्ने अवस्थामा छन् ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको जिम्मा दिइएको छ । केही दूतावासहरुले सम्बन्धित देशको विमानमार्फत पनि नेपालीलाई फर्काएका छन् भने कुवेतले आफ्नै खर्चमा जजिरा एयरलाइन्समार्फत आममाफी पाएर क्याम्पमा बसिरहेका नेपाली श्रमिक फर्काइरहेको छ ।

अहिलेसम्म करिब २९ हजार नेपाली आफ्नै खर्चमा स्वदेश फर्किएका हुन् भने कुवेतले २ हजारभन्दा बढी नेपालीलाई उसकै खर्चमा फिर्ता ल्याइदिएको छ । सरकारले जेठ २३ गतेबाट ‘उद्धार उडान’ सुरु गरेको थियो ।

सरकारी तथ्यांकअनुसार १९९ वटा फ्लाइटबाट ३० हजार ९४० नेपाली स्वदेश फर्किएका छन् । सबैभन्दा धेरै यूएईबाट नेपाली फर्किरहेको देखिन्छ । शनिबारसम्म ७ हजार १९६ जना नेपाली यूएईबाट फिर्ता भएका छन् ।

कुवेतबाट ५ हजार ५४९ जना र साउदी अरेबियाबाट ५ हजार ५५ जना फर्किसकेका छन् । कतारबाट ३ हजार ३२९ र मलेसियाबाट ३ हजार २ सय २६ नेपाली स्वदेश आएका छन् ।

बहराइनबाट ९८०, बंगलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अष्ट्रेलियाबाट ६३४ जना नेपाली चार्टर्ड उडानको टिकट काटेर फर्किएका छन् ।ओमानबाट ४९२, दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३, थाइल्यान्डबाट ३२६, बेलायतबाट २२९ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।

सिंगापुरबाट १४६, इजरायलबाट १२७, फिलिपिन्सबाट १०८ र चीनबाट १०५ जनालाई फर्काइएको छ । अफगानिस्तान, म्यान्मार, श्रीलंका, हङकङ, पाकिस्तान र टर्कीबाट पनि नेपालीहरु फर्किएका छन् ।

यसैबीच अब विदेशमा अलपत्र परेर फर्किनुपर्ने अवस्थामा करिब ५० हजार नेपालीहरु रहेको अनुमान छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने अझै ५० हजार नेपाली स्वदेश फर्किन उडान कुरिरहेको अनुमान गरिएको बताउँछन् । साउन ७ गतेसम्मको चार्टर्ड फ्लाइटको तालिका स्वीकृत गरेर अहिले उद्धार उडान भइरहेको छ ।

एकसातामा विदेशमा कोरोनाबाट थप १६ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, यूएईमा पाँच र कुवेतमा तीन जनाको मृत्यु भएको हो ।

कतारमा मृत्यु भएका आठमध्ये दुई जनाको मृत्यु हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी छ जनाको मृत्युपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ । शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए।

संघका अनुसार जम्मा कोराना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये सबै मुक्त भएका छन् । साथै मध्यपूर्वका केही देशमा रहेका नेपालीमा भने अझै कोरोना भाइरसको सङ्क्रमण नरोकिएको संघले आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।

हालसम्म विभिन्न देशमा कूल ३० हजार ५७१ सङ्क्रमित नेपालीमध्ये २८ हजार ६८१ जना सङ्क्रमणमुक्त भएको संघको तथ्याङ्क छ ।
 यसैगरी भारत, साउदी अरेबिया, युएई र कुवेतमा मात्र यस साता ९५० नेपालीमा कोरोना सङ्क्रमण देखिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्