झापाको सीमा क्षेत्रमा भारतीयसँग सशस्त्र प्रहरीको झडप, चार राउण्ड हवाई फायर

काठमाडौं, साउन ४ । झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूह र सुरक्षाकर्मीबीच झडप भएको छ ।

झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो ।उनीहरूलाई रोक्ने सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी गएपछि तनाव भएको हो । अवैध रूपमा पस्न खोजेका उनीहरू सशस्त्र प्रहरीमाथि जाइलागेका थिए ।

झडपका क्रममा सशस्त्र प्रहरीका केही जवानको पोशाक च्यातिएको छ ।भीड नियन्त्रणमा लिनका सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायरसमेत गरेको छ ।सशस्त्र प्रहरीका अनुसार सीमास्तम्भ १५२ नजिकै झडप भएको होे । भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् ।

सो टोलबाट नेपालतर्फ सामान तस्करी हुँदै आएको थियो । लकडाउनसँगै प्रहरीले नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा आक्रमणका लागि आएको प्रहरीले बताएको छ । घटनामा सशस्त्र प्रहरी जवान सामान्य घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिएका छन् ।

घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको उनले बताएका छन् । शुक्रबार र बिहीबार राति पनि सुनसरीको सीमावर्ती क्षेत्रमा पनि सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका थिए ।

लकडाउनकै अवधिमा कचनकवल गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट पनि भारतीयहरू नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले बल प्रयोग गर्नुका साथै हवाई फायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्