भोलिबाट सार्वजनिक यातायात चल्ने, मौद्रिक नितीले अधिकांसलाई मिल्यो राहात

काठमाडौं , साउन ४। सरकारको निर्णयअनुसार सोमबारबाट सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन हुने भएका हुन् ।

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरु सवारीसाधन सञ्चालनका लागि तयार भएका हुन् ।सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।

अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् ।साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु यसअघि नै सञ्चालनमा रहेका छन् ।

व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।सरकारले असार अन्तिम साता छोटो दूरीमा जिल्लाभित्रै यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतले सञ्चालन गरेका थिएनन् ।

आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात सञ्चालनको तयारी थालेको छ ।सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैङ्क सावाँ र ब्याज छ महिनादेखि एक वर्षसम्म समय थप गर्ने भएको छ । सहुलियतपूर्ण कर्जा, पुनर्कर्र्जाको व्यवस्था गरेको छ । कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ । जसले गर्दा यातायात सुचारु गर्न सहज भएको महासङ्घले जनाएको छ ।

सरकारले तत्कालका लागि ५० प्रतिशत भाडा वृद्धि गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरेको थियो तर यातायात क्षेत्रलाई राहत प्याकेज दिनुपर्ने भन्दै ठूला व्यवसायीले गाडी चलाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्