सन्दीपको छलाङ: प्रधानमन्त्री र नेताको बधाई

काठमाडौं – क्रिकेटभन्दा बढी पैसा । पैसाभन्दा बढी ग्ल्यामर । अनि ग्ल्यामरभन्दा बढी मनोरञ्जन । यी तीनै विशेषताको संगम इन्डियन प्रिमियर लिग (आईपीएल) यसपल्ट नेपाली दर्शकका लागि विशेष हुने पक्का छ ।

किनकि यसको ११ औं संस्करणमा १७ वर्षीय स्पिनर सन्दीप लामिछाने हुनेछन् । यसअघिका आईपीएल संस्करणमा अन्य देशका खेलाडीको प्रदर्शन हेरेर चित्त बुझाएका नेपाली दर्शकलाई दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित सन्दीपको उपस्थिति ऐतिहासिक बन्न गएको हो ।

आईपीएलका लागि बेङ्गलोरमा आइतबार भएको दोस्रो तथा अन्तिम दिनको अक्सन (खेलाडी खरिदका लागि हुने बोल कबोल) मा सन्दीपलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको हो । यससँगै उनी आईपीएलका लागि अक्सनमा पर्दै अनुबन्धित हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

‘अनुबन्धित भएकामा एकदमै खुसी छु,’ उनले शुभचिन्तकप्रति ट्वीटमार्फत कृतज्ञता दर्शाए, ‘यात्रा अब सुरु भयो ।’

प्रतिक्रिया दिनुहोस्