यातायात व्यवसायीले भने- अब दुई-तीन दिनभित्रै सार्वजनिक सवारी चलाउँछौं
काठमाडौं , साउन ३ । केही यातायात कम्पनीले मात्रै बस चलाइरहेका छन् । साझासहित मयूर, महानगर, संयुक्त, सुन्दर लगायतका कम्पनीले काठमाडौंमा यात्रु सेवा दिइरहेका छन् । टेम्पोहरुले पनि सेवा दिइरहेका छन् ।
उनीहरुले सरकारले तोकेअनुसार एउटा पंक्तिको एउटा सिटमा एक जना मात्रै बस्ने मापदण्ड पालना गरेका छन् । सरकारले यसरी सवारी चलाउँदा घाटा हुन नदिन यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था पनि गरेको छ । तर, यात्रु पनि पातलो भएकाले कम्पाीहरुले सबै बस निकाल्न सकेका छैनन् । यता यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी चलाउने भएका छन् । मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीले अब सार्वजनिक सवारी चलाउन तयारी थालेका हुन् ।
उनीहरुले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । मौद्रिक नीतिले माग सम्बोधन गरेपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु तयारीमा जुटेका हुन् ।यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले २(३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने बताएका छन् ।
सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो । यातायात व्यवसायीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेकाले अधिकांश यातायात कम्पनीले अझै सेवा सुरु गर्न सकेका छैनन् ।
अब सरकारले सवारी सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्डबारे थप स्पष्ट गर्नासाथ सबै कम्पनीहरूले सवारी चलाउने महासचिव सिटौला बताउँछन् ।‘यात्रुलाई हात धुने व्यवस्था कहाँ(कहाँ कसरी गराउने र यात्रुको भिड हुन नदिन बस स्टपहरुको व्यवस्थापन कसरी गर्ने भन्ने लगायतका विषयमा यातायात व्यवस्था विभागले स्पष्ट गरेपछि हामी सवारी चलाउँछौं,’ उनले भने ।
महासचिव सिटौलाले भविष्यमा कोरोना समुदायमा फैलिएर सार्वजनिक यातायातलाई अपजस नआउने गरी स्वास्थ्य मापदण्ड बन्नुपर्ने र सबैको जिम्मेवारी स्पष्ट गरेर जानुपर्ने बताए ।
यातायात व्यवस्था विभागले भने अब सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’ बनाएर अघि बढ्ने बताएको छ । सवारी सञ्चालन गर्दा कुन जिम्मेवारी कुन निकायले लिने भन्ने स्पष्ट गरेर अघि बढ्नो विभागको योजना छ ।
यातायात व्यवसायीहरुले साउन ७ गतेबाट सकारसँग वातावरण सहज बने लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव पनि गरेका छन् । पछिल्लो निर्णयअनुसार सरकारले गरेको ‘लुजडाउन’ साउन ७ गतेसम्मका लागि छ ।











प्रतिक्रिया दिनुहोस्