यातायात क्षेत्रको समस्या समाधान गर्न व्यवसायी र मजदुरको आग्रह

काठमाडौं , असार ३१ । साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् ।

एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पहिले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी नभएकाले ट्याक्सी र केही बस बाहेक अधिकांश सवारीसाधन सञ्चालन नभएको जनाएको छ ।सवारीसाधन सञ्चालनका लागि यात्रु पनि धेरै सडकमा आइसकेका छैनन् ।

यता यातायात व्यवसायी र मजदुरले यातायात क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन्। यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेको हो।

व्यवसायी तथा मजदुरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बिमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पिपिइको व्यवस्था मिलाउनु पर्ने माग गरेका छन्।

यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष, नेपाल यातायात मजदुर संघका अध्यक्ष, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ।

भेटमा सभापति देउवाले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि प्रतिपक्षमा रहेर रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। कार्यदलले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि सबै राजनीतिक दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको छ।
यसैबीच ट्राफिक प्रहरीले सवारीसाधनमा लागू हुँदै आएको जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले ट्याक्सीबाहेकको सवारीसाधनमा जोरबिजोर प्रणाली रहेको भन्दै सोको कार्यान्वयनका लागि चेकजाँचमा कडाइ गरिएको जानकारी दिए ।उनकाअनुसार ट्राफिक प्रहरीले विभिन्न ४६ वटा ‘चेकिङ प्वाइन्ट’मार्फत निरन्तर चेकजाँचलाई निरन्तरता दिएका छ ।

बुधबार बिहानैमात्र ती चेकिङ प्वाइन्टमार्फत ७६३ वटा सवारीसाधन कारबाहीमा परेको ढकालले जानकारी दिए । जसमा ६४१ वटा मोटरसाइकल र १२२ वटा चारपांग्रे गाडी रहेका छन् ।यसैगरी मंगलबार मोटरसाइकल र चारपांग्रे सवारीसाधन गरी जम्मा १४५७ वटा सवारीसाधान कारबाहीमा परेको पनि महाशाखाले जनाएको छ ।

यसैबीच बुधबार र बिहीबार दुबै दिन उपत्यकाका सडकमा बिजोर नम्बर प्लेटका सवारी चल्ने भएका छन् । बुधबार असार महिनाको ३१ गते र भोलि साउन महिनाको १ गते दुबै दिन बिजोर गते भएकाले बिजोर नम्बर प्लेटकै सवारी चल्ने ढकालले रातोपाटीलाई जानकारी दिए ।

सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै यातायातका साधनमा जोरबिजोर प्रणाली लागू भएको थियो ।ट्याक्सीमा भने सरकारले जोरबिजोर नियम लागू गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्