स्वास्थ्य मन्त्रालयले भन्यो – सार्वजनिक यातायातमा यात्रा गर्दा विशेष सावधानी अपनाऔं

काठमाडौं, असार ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

सरकारको निर्णयसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरु चल्न थालेपछि मन्त्रालयले यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको प्रतिकूल अवस्थामा पनि सार्वजनिक सवारी साधन संचालनमा आएकोले विशेष सावधानी अपनाउन आग्रह गरेका हुन् ।

डा गौतमले सार्वनजिक यातायातको यात्रा कोभिड १९ को संक्रमण भन्दा अगाडिको समयको जस्तो सहज र सुरक्षित नभएको बताए ।अत्यावश्यक भएमा मात्र सार्वजनिक सवारीसाधनको प्रयोग गर्न पनि डा गौतमले आग्रह गरे । उनले अत्यावश्यक अवस्थामा सावधानी अपनाएर सार्वजनिक यातायातमा सवारी गर्नुपर्ने सुझाव दिएका छन् ।

‘डा गौतमले आफूलाई कोभिड संक्रमण भएको वा संक्रमणको शंका लागेको वा कोभिडको मिल्दोजुल्दो लक्षण भएको अवस्थामा सार्वजनिक यातायात प्रयोग नगरीदिनु हुन समेत सबैमा अनुरोध गरेका छन् ।
उनले एकअर्काबीचमा कम्तिमा तोकिएको भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्न, हातको सरसफाइमा ध्यान दिनुहुन समेत अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्