म्याग्दी पहिरोमा अझै ४ जना बेपत्ता, लमजुङमा १५० घर–परिवार विस्थापित
काठमाडौं, असार ३० । म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका मध्ये ४ जनाको अबस्था अझै अज्ञात छ ।गत शुक्रबार गएको पहिरोमा परि ३२ जना बेपत्ता भएकामा २८ जना मृत अबस्थामा भेटिएका थिए ।
पहिरोका कारण विस्थापित भएका १ सय ५० भन्दा बढी परिवारका करिब ८ सय जनालाई विद्यालय र सामुदायिक भवनहरुमा राखिएको छ ।घटनाको पाँच दिन वितिसक्दा पनि पहिरो प्रभावितहरुले अझै राहत सामाग्री पाउन सकेका छैनन् ।खराव मौसम र सडक अवरुद्ध हुंदा राहत सामग्री पुर्याउन नसकेको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय युवा व्यवसायी र ओमकुमारी शान्ति कोषको पहलमा पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरबाट गर्भवती महिला, विपद्मा परेका वृद्धवृद्धाकोउद्धार गरिएको छ ।
उता बाढी–पहिरोले लमजुङमा १५० घर–परिवार विस्थापित भएका छन् ।बाढी–पहिरोबाट सबैभन्दा बढी मध्यनेपाल नगरपालिकाका १०९ घर–परिवार विस्थापित भएका छन् ।उनीहरुलाई मध्यनेपाल–६, भोर्लेटारको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।
मध्यनेपाल नगरपालिका–६, लामासोतीका २७, रानीपानीका ३१, भदौरेका ११ र गुम्बाबेसीका नौ घर–परिवारलाई सुरक्षित स्थान्तरण गरिएको नगरप्रमुख रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।
यस्तै, बेसीसहर नगरपालिका, मर्स्याङ्दी, दोर्दी र क्होलासोँथार गाउँपालिकाका ३७ घरका १७५ जनालाई पनि सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णराज शर्माले बताउनुभयो ।
बिहीबार राति बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरो जाँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो ।















प्रतिक्रिया दिनुहोस्