पेट्रोलियम पदार्थमा लगातार मूल्य वृद्धि, विरोधमा नेविसंघको प्रदर्शन
काठमाडौं , असार २८ । नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थमा लगातार मूल्य वृद्धि गरेको भन्दै त्यसको विरुद्ध पदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आज मध्यान्ह ११ बजेबाट साढे १२ बजेसम्म आयल निगमको कार्यालय परिसर बबरमहलमा विरोध पदर्शन गरेको नेविसंघका महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिए ।
कोरोना महामारीमा आर्थिक रुपमा कमजोर भएका जनताको ढाड सेक्ने उद्देश्यले सरकारले मूल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिन दबाब दिनका लागि नेविसंघले विरोध प्रदर्शन गरेको तिमल्सिनाले बताए ।
सरकारले भने स्वचालित मूल्य प्रणाली लागु गरिएकाले भारतीय आयल निगम ९आइओसी० ले जस्तो विवरण पठाउँछ त्यसकै आधारमा मूल्य समायोजन हुने गरेको जनाएको छ ।
नेविसंघले अन्य धेरै विकल्पहरु हुँदाहुँदैपनि सरकारले जनतालाई दुख दिने नियतले मूल्यवृद्धि गरेको आरोप लगाएको छ ।
आइओसीकै अनुसार मूल्यवृद्धि गर्नैपरेपनि प्रदुषण शुल्क, पूर्वाधार विकास शुल्क, सडक मर्मत सम्भारलगायत विभिन्न नाममा कर लिने गरेको सरकारले केही शुल्क कटौती गरेरै भएपनि अहिलेको विषम परिस्थितिमा मूल्य वृद्धि गर्न नहुने महामन्त्री तिमल्सिनाको तर्क छ ।
त्यस्तै अर्का महामन्त्री दिपक भट्टराईले कोरोना महामारीले सिथिल भएको मुलुकमा इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको बताए । उनले मूल्य बृद्धि तुरुन्त फिर्ता नगरे देशभर आन्दोलन चर्काउने चेतावनी दिए ।सरकारले नौ दिनको अवधिमा पेट्रोलियम पदार्थमा दुईपटक मूल्यवृद्धि गरेको छ । पेट्रोलमा ६ रुपैयाँको दरले र डिजेलमा तीन रुपैयाँको दरले मूल्यवृद्धि गरेको छ ।











प्रतिक्रिया दिनुहोस्