बाढीपहिरोको कहर : एकै दिन २३ को मृत्यु, ३६ बेपत्ता र २६ जना घाइते
काठमाडौं , असार २७ । गत बिहीबारदेखि सक्रिय मनसुनका कारण आएको बाढीपहिरोका कारण देशभरका विभिन्न जिल्लामा कम्तीमा २३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीपहिरोमा परी ३६ जना बेपत्ता भएका छन् भने २६ जना घाइते भएका छन् ।
सक्रिय प्रि–मनसुन र त्यसपछिको सक्रिय मनसुनका कारण मुलुकभरको जमिन भिजेकाले पहिरो जाने क्रम बढेको हो । बाढी पहिरोको जोखिमसँगै सरकारले उद्धार र राहत कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
पीडितहरूले उद्धार र राहत प्रभावकारी नभएको गुनासो गरेका छन् । बाढी पहिरोका कारण कास्की, म्याग्दी, लमजुङ, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी बढी प्रभावित भएका छन् । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।
‘आगामी सोमबारसम्म यो प्रणालीको प्रभाव रहन्छ । अबका चार दिन सतर्क रहनुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि पनि वर्षा हुने सम्भावना रहेको हुँदा सचेत र सुरक्षित हुन आवश्यक छ ।’ मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि हालसम्म प्रशस्त पानी परेको र जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको हो ।
विशेषगरी प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदी आसपासको क्षेत्र बढी जोखिममा
मनसुनी वर्षाका कारण देशैभरका नदी र खोलामा बहाब बढेको छ । बहाब बढेसँगै तटीय क्षेत्रमा खतरा पनि बढेको छ । शुक्रबार कोसी, नारायणी र आसपासका नदीहरूमा बहाब उल्लेख्य बढेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पानीको बहाब बढ्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । पूर्वको कन्काई, कमला, बाग्मतीलगायतका नदीमा बहाब बढ्नेछ । साथै सहायक नदीहरूमा पनि बहाब बढ्न गई खतराको आसपासमा पुग्न सक्ने अनुमान गरिएको छ ।
कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा पानीको बहाब बढे पनि सतर्कताभन्दा तल नै रहने भएको छ । पश्चिम राप्ती बबईलगायतका नदीमा बहाव बढे पनि खतरा तहभन्दा तल नै हुने छ । मेची, विरिङ निन्दा, खाडो, रातो, लालबकैया, पूर्वी राप्तीलगायतमा बहाव सतर्कताको आसपास पुग्ने छ । यस्तै, प्रदेश एकको झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, खोटाङ, ओखलढुंगालगायत सबै जिल्लामा बहाव उच्च हुन सक्नेछ । बाग्मती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काठमाडांै उपत्यका र गण्डकी प्रदेशका नवलपरासी पूर्व, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बाग्लुङलगायत आसपासका जिल्लामा रहेका खोला तथा नदीमा पानीको बहाव बढ्न सक्ने बताइएको छ ।
शनिबार पनि भारी वर्षा हुने
प्रदेश ५ का तराईका जिल्लामा बग्ने ससाना नदीमा पनि आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ । न्यून चापीय रेखा दक्षिण तराई क्षेत्रबाट उत्तरतिर सर्दै गएकाले शनिबार पनि बदली भई देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । शनिबार कोसी र नारायणी नदीसँगै अरू सहायक नदीमा पनि पानीको बहाव बढ्नुका साथै सतर्कता आसपाससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकामा २८ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, शुक्रबार सबैभन्दा बढी पोखरामा २ सय ५५ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । सिमरामा १ सय ३६ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ । शुक्रबार नै भैरहवामा १ सय ३५ दशमलव ३ मिलिमिटर वर्षा मापन गरिएको छ । धनगढीमा १४ दशमलव ९, वीरेन्द्रनगरमा १४ दशमलव ३, नेपालगन्जमा ७४ र जुम्लामा ९ दशमलव ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार घोराहीमा ३३, ओखलढुंगामा १३ दशमलव ६, ताप्लेजुङमा ९ र धनकुटामा ३२ दशमलव १ मिलिमिटर वर्षा भएको छ ।राजधानी दैनिकबाट














प्रतिक्रिया दिनुहोस्