यातायात व्यावसायीकाे चेतावनी- हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं

काठमाडौं , असार २६ । सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक गाडी चलाउने निर्णय गरे पनि यातायात व्यवसायी र यात्रु अझै अन्यौलमा छन्।

सरकारले एकपक्षीय निर्णय गरेको र अहिले नै गाडी चलाउने अवस्था नरहेको व्यवसायीको भनाइ छ । यता यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन्।शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन् । साथै उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती समेत दिए। पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग प्रस्तुत गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको छ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको बताए। आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै अधिकारीले भने हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं। आफूहरुको व्यवसाय चौपट भएको भन्दै अब यातायात सञ्चालन गर्न सक्‍दौनौं। उनले भने यातायात सञ्चालन गर्ने हो भने सरकारले सबै यातायातको राष्ट्रियकरण गरेर चलाओस्। राष्ट्रियकरण गर्दा आफूहरुले यातायातको लागत मुल्य पाउनुपर्छ।

सरकारले एकपछि अर्को निजी क्षेत्रलाई समाप्त पार्न लागिपरेको उनको आरोप थियो। सरकारले सञ्चालन गरेका यातायात डुबेको स्मरण गराउँदै अहिले ती संस्थाहरु जग्गा विक्री गरेर खाने भाँडो बनेको बताए। निजी क्षेत्रको यातायात क्षेत्रमा ९९ प्रतिशत योगदान रहेको भन्दै यसलाई पनि ध्वस्त पारेर मुलुकलाई दुर्घटनातर्फ धकेल्ने काम भएको बताए।

यातायात व्यवसायी चार महिनायता मारमा परेको भन्दै मजदुरहरु पनि समस्यामा परेको बताए। यातायात मजदुरलाई तलब दिनका लागि भएपनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको माग गरे।कार्यक्रममा महासंघका महासचिव भरत नेपालले सरकारले यातायात व्यवसायीहरुसँग कुनै संवाद नगरी एकपक्षीइ निर्णय गरी सार्वजनिक यातायात सञ्चालन गर्न भनेकोमा आपत्ति जनाए। उनले यातायात व्यवसायीको तत्कालको मागबारे जानकारी गराए। महासंघका महासचिव नेपालले पाँच बुँदे मागबारे जानकारी गराएका थिए।

जसमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार याताया मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्ण तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बीमा प्रिमियम छुट समयावधि समायोजनलगायत छन्।सरकारले निर्णय गरेलगत्तै फाट्टफुट्ट सार्वजनिक गाडी भने चल्न थालेका छन् । काठमाडौं सहित केही जिल्लामा फाट्टफुट्ट गाडी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ । ट्याक्सी भने पहिलेदेखि नै चल्न थालेका थिए ।

सरकारले हिजो काठमाडौं, ललितपुर र भक्तपुरभित्र तथा बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्