देशका विभिन्न ठाउँमा बाढी पहिरोः १७ जनाको मृत्यु, ८ जना घाइते, १२ जना बेपत्ता

काठाडौं, असार २६ । म्याग्दीमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा पुरिएर अहिलेसम्म दश जनाको मृत्यु भएको छ । ती घटनामा परेका १२ जना बेपत्ता छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार बाढी पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको मृत्यु भएको हो ।

ढकालका अनुसार धवलागिरी–६, मराङमा बाढी पहिरोमा परेर १२ जना बेपत्ता भएका छन् । मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति पुगेको र मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए । ।

अविरल वर्षापछि आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलाको बेलिब्रिजमा क्षति पुर्‍याएको छ भने वस्ती जोखिममा परेको छ ।यसबाट रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङसँगको यातायात नै टुटेको छ ।

उता कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् ।पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किँदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

थापाको घर पहिरोमा पर्दा थापासहित उनकी श्रीमती सोममाया, दुई नाती र छिमेकी इशीका थापाको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए।बाँकीलाई स्थानीय र प्रहरीको संक्रियतामा अस्पताल लगिएको र मणिपाल अस्पतालमा उपचार भइरहेको हमालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्